कक्षा ११ को विषय दर्ता फाराम बुझाउने म्याद थप: मंसिर १० गतेभित्र अनलाइन इन्ट्री गर्नुपर्ने
राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुर
राष्ट्रिय परीक्षा बोर्ड (कक्षा ११ र १२) ले शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फाराम भर्ने र भराउने सम्बन्धमा समयावधि संशोधन गरी म्याद थप (संसोधन) गरेको छ।
म्याद थपको कारण
बोर्डद्वारा जारी सूचना अनुसार, कक्षा १० (SEE) को पूरक परीक्षाका प्रमाणपत्रहरू सम्बन्धित विद्यालयमा उपलब्ध भई नसकेका कारणले गर्दा पूर्व निर्धारित शैक्षिक कार्यतालिकाको समयावधि परिवर्तन गरिएको हो।
संशोधित (नयाँ) समयसीमा र शुल्क विवरण
बोर्डले संशोधित गरेको कार्यतालिका अनुसार विषय दर्ता फाराम बुझाउने नयाँ समयसीमा निम्न प्रकार रहेको छ:
- विलम्ब शुल्क रहित: प्रति विद्यार्थी रु. ४००/- का दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी फाराम बुझाउने अन्तिम मिति २०८२ कात्तिक मसान्तसम्म कायम गरिएको छ। (पहिले यो मिति २०८२ कात्तिक १५ गतेसम्म तोकिएको थियो)।
- विलम्ब शुल्क सहित: प्रति विद्यार्थी रु. ८००/- का दरले हुने रकम बोर्डको बैंक खातामा जम्मा गरी फाराम बुझाउने अन्तिम मिति २०८२ मंसिर ७ गतेसम्म कायम गरिएको छ। (पहिले विलम्ब शुल्क सहितको मिति २०८२ कात्तिक मसान्तसम्म तोकिएको थियो)।
अनलाइन इन्ट्री र बुझाउने अन्तिम मिति
उक्त तोकिएको शुल्क राष्ट्रिय परीक्षा बोर्डको बैंक खातामा दाखिला गरी बैंक भौचर सहित मिति २०८२ मंसिर १० गतेभित्र Online ईन्ट्री समेत गरी बोर्डका सम्बन्धित कार्यालयहरूमा रसिद काटी फाराम बुझाउनु पर्नेछ।
यसअघि, शैक्षिक कार्यतालिका अनुरुप मिति २०८२ मंसिर ७ गते गतेभित्र अनलाइन फाराम भरी बोर्डका सम्बन्धित कार्यालयमा रसिद काटी बुझाउन सूचित गरिएको थियो, जुन अहिले मंसिर १० गतेसम्म बढाइएको हो।
राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरूलाई आ-आफ्नो कार्य क्षेत्रभित्रका विद्यालयहरूलाई जानकारी गराई यस सूचना बमोजिम कार्य अगाडि बढाउन अनुरोध गरेको छ।